काठमाडौं । नेपाली इलेक्ट्रिक दुईपांग्रे सवारी बजारमा भारतीय ब्रान्डका नयाँ मोडल थपिने क्रम जारी छ । पछिल्लो समय टीभीएसको अर्बिटर भी२ र हिरोको भिडा भीएक्स२ नेपाली बजारमा सार्वजनिक भएसँगै फ्यामिली तथा दैनिक प्रयोगका लागि नयाँ विकल्प थपिएका छन् ।
टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अर्बिटर भी२ बिक्री सुरु गरेको हो भने सीजी मोटर्सले हिरोको पहिलो अन्तर्राष्ट्रिय इलेक्ट्रिक स्कुटरका रूपमा भिडा भीएक्स२ नेपाली बजारमा ल्याएको छ ।
यी दुवै स्कुटर आधुनिक प्रविधि, आरामदायी यात्रा र दैनिक प्रयोगलाई प्राथमिकतामा राखेर विकास गरिएका भए पनि डिजाइन, मोटर क्षमता, ब्याट्री, रेन्ज, फिचर र मूल्यका हिसाबले फरक विशेषता बोकेका छन् ।
डिजाइन र प्रयोगकर्ता लक्षित अवधारणा
अर्बिटर भी२ विशेषगरी परिवारलाई लक्षित गरी डिजाइन गरिएको स्कुटर हो । यसमा फराकिलो सिट, पर्याप्त लेग स्पेस र आरामदायी राइडिङ पोजिसन उपलब्ध छ । यसको अगाडिको भाइजर र प्रिमियम लुकले पारिवारिक प्रयोगसँगै आकर्षक डिजाइन खोज्ने ग्राहकलाई पनि लक्षित गरेको देखिन्छ ।
भिडा भीएक्स२ भने तुलनात्मक रूपमा युवा पुस्तालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । आधुनिक तथा स्पोर्टी डिजाइन, पछाडिको ब्याकरेस्ट र आकर्षक स्टाइलिङ यसका मुख्य विशेषता हुन् ।
भिडा भीएक्स२ दुई भेरियन्टमा उपलब्ध छ । भीएक्स२ मा २.२ पध्ज ब्याट्री र भीएक्स२ एगिक मा ४.४ पध्ज ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले क्रमशः ९३ किलोमिटर र १८७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । दुवै भेरियन्टमा फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ ।
अर्बिटर भी२मा ३.१ पध्ज क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले आइडिसी मापदण्डअनुसार १५८ किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । यसमा भने फास्ट चार्जिङ सुविधा उपलब्ध छैन ।
भिडा भीएक्स२ मा ६ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । न्यु भेरियन्टको अधिकतम गति ७० किमि÷घण्टा र एगिक भेरियन्टको ९० किमी÷घण्टासम्म पुग्ने कम्पनीले जनाएको छ ।
अर्बिटर २ मा भने २.५ किलोवाट पीक क्षमताको रियर–ह्वील माउन्टेड मोटर प्रयोग गरिएको छ । यसको अधिकतम गति ६८ किमि÷घण्टा रहेको छ । त्यसैले पावर र प्रदर्शनको हिसाबले भिडा भीएक्स२ केही अगाडि देखिन्छ ।
फिचरमा के फरक ?
भिडा भीएक्स२ एगिकमा टीएफटी डिस्प्ले, स्पोर्ट मोड, डुअल रिमुभेबल ब्याट्री तथा डिस्क ब्रेक जस्ता सुविधा छन् भने न्य भेरियन्टमा एलसिडी डिस्प्ले, इको र राइड मोड, सिंगल ब्याट्री तथा ड्रम ब्रेक उपलब्ध छ । साथै एलईडी लाइटिङ, स्मार्ट कनेक्टिभिटी, ओटिए अपडेट, मोबाइल एप सपोर्ट, रिभर्स मोड र कम्बाइन्ड ब्रेकिङ सिस्टम दुवैमा समावेश छन् ।
अर्बिटर भी२मा टिभिएस कनेक्ट एप सपोर्ट, कलर एलसिडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, हिल होल्ड, एन्टी–थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स पार्किङ असिस्ट, ग्क्द्य चार्जिङ पोर्ट र रिमुभेबल ब्याट्री जस्ता सुविधा दिइएका छन्।
दैनिक प्रयोगलाई ध्यानमा राखेर दुवै स्कुटरमा पर्याप्त अन्डर–सीट स्टोरेज उपलब्ध गराइएको छ । अर्बिटर भि२ मा ३४ लिटर स्टोरेज रहेको छ भने भिडा भीएक्स२का दुवै भेरियन्टमा ३३.२ लिटर क्षमता उपलब्ध छ ।
भिडा भि२ न्ययुको मूल्य दुई लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ भने भीएक्स२ एगिकको मूल्य तीन लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ । टीभीएस अर्बिटर भि२को मूल्य दुई लाख ८१ हजार ९ सय तोकिएको छ ।
कुन स्कुटर कसका लागि ?
यदि तपाईंलाई बढी रेन्ज, शक्तिशाली मोटर र उच्च प्रदर्शन आवश्यक छ भने भिडा भीएक्स२ उपयुक्त विकल्प बन्न सक्छ । तर तुलनात्मक रूपमा कम मूल्यमा आधुनिक प्रविधि, पर्याप्त रेन्ज र दैनिक प्रयोगका लागि सुविधायुक्त स्कुटर खोज्दै हुनुहुन्छ भने अर्बिटर भि२ आकर्षक विकल्प हुन सक्छ ।




