काठमाडौं । एलपी ग्यास उद्योग संघले एक महिना पुग्ने ग्यास भएका उपभोक्तालाई लाइनमा नबस्न आग्रह गरेको छ । पछिल्लो समय ग्यासको अभाव र उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै संघले यस्तो आग्रह गरेको हो ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई लाइनमा नबस्न आग्रह गरेको छ । ‘आम उपभोक्ताहरु जोसँग कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, सो वर्गहरुले तत्काल लाइनमा नबसिदिने, बिक्रेताले उपलब्ध भएको ग्यास उपभोक्तालाई प्राथमिकतामा राखेर पारदर्शी र व्यवस्थित ढंगले वितरण गर्ने, उद्योगहरुले उपभोक्तालाई ध्यानमा राखेर पारदर्शी र व्यवस्थित ढंगले बजारमा ग्यास पठाउने र निगमले बजार सहज नहुन्जेल नियमितभन्दा बढी ग्यास आयात गर्ने कार्यमा सबै पक्ष इमान्दार र कर्तव्यनिष्ठ भएर लागेमा बजार सहज हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

ADVERTISEMENT

संघले साविकबमोजिम भरी सिलिण्डर प्रयोग नियमित गरिएको जानकारी गराउँदै आयात नियमित भइरहँदासमेत अभाव देखिनुको कारण पछिल्लो चार महिनामा नियमित खपतभन्दा करिब ४५ हजार मेटन ग्यास कम आयात हुनु, आधा सिलिण्डरको प्रयोग हुनु र ग्यास नपाइने सोचले सबै खाली सिलिण्डर एकैपटक भर्न खोज्नु रहेको पनि बताएको छ ।

अहिले देशभरका ग्यास डिपोमा उपभोक्ताको लाइन लागेको छ । ग्यास बिक्रेताले ४० लाख सिलिन्डर बजारमा आएकाले पनि ग्यासको अभाव भएको बताएका छन् ।

ADVERTISEMENT