चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवामा अत्यधिक चाप बढेपछि शय्या अभाव भएको छ। सुत्केरी हुन आउने गर्भवतीको संख्या बढेसँगै अस्पतालले पालो कुर्ने सेवाग्राहीलाई भुइँमा ‘म्याट्रेस’ राखेर सेवा दिन बाध्य भएको जनाएको छ।
अस्पतालका अनुसार प्रत्येक वर्ष असार दोस्रो सातादेखि भदौसम्म प्रसूति सेवामा उच्च चाप रहने गर्छ। हाल अस्पतालमा प्रसूतिसम्बन्धी १११ शय्या रहे पनि दैनिक ४० देखि ५० जनासम्मको प्रसूति गराउनुपर्ने अवस्था छ।
वरिष्ठ प्रसूति रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता सहप्राध्यापक डा. रामप्रसाद सापकोटाका अनुसार सुत्केरी हुनुअघि औषधि चलाउनुपर्ने गर्भवतीलाई शय्यामा राखिन्छ भने पालो कुर्ने अन्य सेवाग्राहीलाई अस्थायी रूपमा ‘म्याट्रेस’मा राख्नुपर्ने अवस्था आएको छ।
चितवनसहित आसपासका जिल्लाका गर्भवतीहरूको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ। अनुभवी चिकित्सक, दक्ष नर्सिङ सेवा, २० शय्याको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) तथा ‘कङ्गारु मदर केयर’ लगायतका सुविधाका कारण सेवाग्राहीको चाप बढ्ने गरेको अस्पतालले जनाएको छ।
डा. सापकोटाका अनुसार असोज–कात्तिकमा मनाइने दसैं–तिहारको समयमा घर फर्किनेहरूको प्रभावका कारण त्यस अवधिमा गर्भधारण भएकाहरूको प्रसूति असारदेखि भदौसम्म बढी हुने भएकाले यो समयमा सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा बढ्ने गर्छ।
गत आर्थिक वर्षमा भरतपुर अस्पतालबाट ७ हजार ८५३ जनाले प्रसूति सेवा लिएका थिए। तीमध्ये ४ हजार २३५ जनाको सामान्य प्रसूति, ३ हजार ५४० जनाको शल्यक्रियामार्फत प्रसूति तथा ७० जनाको ‘भ्याकुम’ वा ‘फोर्सेप’ प्रयोग गरी प्रसूति गराइएको अस्पतालले जनाएको छ।




