काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा फेरि तनाव बढेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी बाँध भत्काइदिएपछि तनाव बढेको हो ।
आइतबार दिउँसो ३ बजेतिर एसएसबी आएर सुस्ता गाउँपालिका(५ थारूटोलास्थित अस्थायी तटबन्ध भत्काउन खोजेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
नारायणी नदीमा तटबन्ध गर्न भारतीयले रोक लगाएपछि बाढीको जोखिम कम गर्न स्थानीयले बनाएको अस्थायी बाँध सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले खनेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।
स्थानीयले एसएसबीले खन्दै गरेको भिडियो र तस्बिरसमेत खिचेर सामाजिक सञ्जालमा राखेका छन् । विवाद बढ्दै गएपछि नेपाली सुरक्षाकर्मीले साम्य पारेका थिए ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने माटोको बाँधका विषयमा भारतीय सुरक्षाकर्मीले बुझ्न आउँदा स्थानीयले विरोध गरेको र सामान्य विवाद निम्तिएको दाबी गरे । सोमबार यसबारे छलफल गर्न स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच छलफल गरिने पनि प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।
नारायणी नदीमा भइरहेको तटबन्धमा भारतीय पक्षले रोक लगाएपछि बस्ती जोगाउन सुस्तावासीले केही दिनअघि माटोको बाँध बाँधेका थिए । यसअगाडि सुस्तास्थित नारायणी नदीमा १ सय ३२ मिटर क्षेत्रमा भारतीयले सुरक्षाकर्मीले तटबन्ध गर्न रोक लगाउदा विवाद भएको थियो ।




