सिरहा : सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रबार बिहानदेखि क्रमशः सामान्य बन्दै गएको छ। यद्यपि, गोलबजार–लहान क्षेत्रमा जारी गरिएको कर्फ्यु भने अर्को सूचना नभएसम्म यथावत् रहने जिल्ला प्रशासनले जनाएको छ।

शुक्रबार बिहानदेखि पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन तथा सर्वसाधारणको चहलपहल न्यून देखिएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले राजमार्गसहित संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा बनाएका छन्।

ADVERTISEMENT

नेपाली सेनाले गोलबजारका विभिन्न गाउँबाट मुख्य सडकमा निस्कने बाटो तथा गल्लीहरूमा समेत निगरानी बढाएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ।

ADVERTISEMENT

कर्फ्युको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षाकर्मीले सडकमा भेटिएका नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै फर्काइरहेका छन्। आवश्यक कामका लागि बाहिर निस्किएका व्यक्तिलाई भने सोधपुछपछि गन्तव्यतर्फ जान दिइएको छ।

यता, कर्फ्यु लागू नभएको सिरहाको कसहा क्षेत्रमा भने केही प्रदर्शनकारी पुनः पूर्व–पश्चिम राजमार्गमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। त्यस क्षेत्रमा पनि सुरक्षाकर्मीको निगरानी बढाइएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सुरक्षा निकायसँग समन्वय गर्न तथा जारी सुरक्षा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। स्थानीय प्रशासनले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाउँदै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न आवश्यक सबै कदम चालिएको जनाएको छ।