काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको छ।

बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले जनाएका छन्।

ADVERTISEMENT

टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका आरोही रहेका छन्। टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

ADVERTISEMENT

अधिकारीहरूका अनुसार मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको छ।विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।

पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग समन्वय गरेर तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ। हेलिकोप्टरसहित उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने तयारी भइरहेको क्लबले उल्लेख गरेको छ।

ADVERTISEMENT

क्लबले सम्पर्कविहीन सबै आरोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।