काठमाडौं । नेपाल राहत शिक्षक केन्द्रीय समिति र नेपाल राहत शिक्षक राष्ट्रिय समितिबीच एकता भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देशभरका लगभग एक लाख ५० हजारको संख्यामा रहेका राहत शिक्षक तथा कर्मचारीले न्याय नपाए संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्लले आफूहरूका माग र मुद्दाहरू एउटै भएकाले एकताबद्ध भएर अगडि बढ्न प्रतिबद्ध रहेको बताए । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगतमा ठूलो आन्दोलन गरेको र अझै पनि आफूहरूका मागहरू सम्बोधन भइनसकेकाले पुनः आन्दोलनको तयारीमा रहेको मल्लले जनाए ।
मल्लले अहिले महासंघ मार्फत सरकार समक्ष माग र मुद्दा पूरा गराउने प्रयासमा रहेको बताए । ‘यसबाट हामी सफल हुनसकेनौं भने महासंघसँगलाई आन्दोलनको आह्वन गर्न पहल गर्ने हो, यदि ऊ तयार नभए राहत शिक्षक केन्द्रीय समिति एक्लै भए पनि आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ,’ उनले भने ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष, उमेर कटिसकेका शिक्षकलाई उचित आर्थिक प्याकेजको व्यवस्था, र १५ वर्षभन्दा बढी उमेरका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोष तथा पेशागत वृद्धिविकासमा प्रतिस्पर्धा गर्न पाउनुपर्नेलगायतका मुख्य माग रहेको मल्लले बताए ।

एकता प्रक्रियामा आएका लालबहादुर श्रेष्ठले देशभरका राहत शिक्षक तथा कर्ममचारीहरूको उस्तै प्रकृतिको माग रहेकाले छुट्टाछुटै संघर्ष गर्नु उचित नरहेको बताए । ‘देशभरका रहत साथीहरूको एउटै समस्या, माग र उही मुद्दाहरू छुट्टा–छुट्टै लिएर सरकारसगँ जाँदा कमजोर भइन्छ, त्यसैले हामीले एकता गरेका छौं, आशा छ छुट्नुभएका साथिहरू पनि एकतामा आउनु हुनेछ’ श्रेष्ठले भने । आफूहरूलाई अधिकारबाट च्यूत गराउन सरकारले टे«डयुनियन अधिकार हनन गर्न खोजेको भन्दै त्यसविरुद्ध पनि निकट भविष्यमा आन्दोलन गर्ने श्रेष्ठले चेतावनी दिए ।
वार्ताटोली संयोजक कृष्णराज विष्टले देशभर रहेका लाखौं शिक्षक तथा कर्मचारीहरूको न्यायका लागि सबैलाई एकै ठाउँमा ल्याउन प्रयास गरिरहेको बताए । उनले ४० हजार राहत शिक्षक, ६ हजार उच्च मावि शिक्षक, ३६ हजार विद्यालय कर्मचारी र १४ हजार शिक्षण सिकाई अनुदान, ३० हजार बालविकास, संघीय तथा प्रदेश अनुदानसमेत गरी करिब १ लाख ५० हजारको जनशक्तिलाई राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।
राहत शिक्षक केन्द्रीय समितिका उपमहासचिव राजिव भट्टराईले सरकारलाई दबाब दिन छुट्टाछुट्टै लड्ने भन्दा सबै एकहुनुपर्नेमा जोड दिए ।
नेपाल राहत शिक्षक राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष विष्णुमाया तिमल्सिना, उपमहासचिव कृष्णप्रसाद अधिकारी, सचिवालय सदस्य वीरेन्द्रराज गिरीसहित बहुसंख्यक स्थायी समितिका पदाधिकारीहरू, सचिवालय सदस्य, केन्द्रीय सदस्य र जिल्ला समितिका अध्यक्षहरूको समिति नेपाल राहत शिक्षक केन्द्रीय समितिमा एकता गरेको जनाएको छ ।












