सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति सुव्यवस्थामा असर पर्न सक्ने निष्कर्षपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु लागू गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम २०८३ साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको छ।

ADVERTISEMENT

प्रशासनले जारी गरेको आदेशअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोकसम्म कर्फ्यु लागू हुनेछ। त्यसैगरी उत्तरतर्फ गोलबजार–६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ मा रहेको रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस आसपासको क्षेत्रसम्म कर्फ्यु आदेश प्रभावकारी रहने जनाइएको छ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै जिल्लाको शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न प्रशासनलाई सहयोग गर्न अपिल गरेका छन्। कर्फ्यु आदेश उल्लङ्घन गर्ने वा शान्ति भङ्ग हुने गतिविधिमा संलग्न पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

ADVERTISEMENT