सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नवनियुक्त अध्यक्ष प्याकुरेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार डा. प्याकुरेललाई खुला प्रतिस्पर्धाको प्रक्रियामार्फत अध्यक्ष पदमा नियुक्त गरिएको हो। सरकारले स्वास्थ्य बिमा प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ नेतृत्व चयन प्रक्रिया अघि बढाएको जनाएको छ।
नवनियुक्त अध्यक्ष प्याकुरेलले स्वास्थ्य बिमा बोर्डको संस्थागत क्षमता सुदृढ गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधारमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न बोर्डको नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले नयाँ नियुक्तिलाई स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। मन्त्रालयले खुला प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन गरिएको उल्लेख गर्दै स्वास्थ्य बिमा प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने दिशामा बोर्डले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेको छ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पहुँच विस्तार, सेवा प्रवाहमा सुधार तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत पहललाई निरन्तरता दिने जनाएको छ।





