बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय भएको छ।
नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि एमाले नेतृत्वले आचार्यलाई नै सरकारको नेतृत्वमा निरन्तरता दिने निष्कर्ष निकालेको हो।
भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबीच भएको छलफलमा आचार्यलाई नै मुख्यमन्त्री कायम राख्ने सहमति भएको हो।
मुख्यमन्त्री आचार्यले उक्त निर्णयको पुष्टि गर्दै अब नेकपासँग सत्ता सहकार्य र नयाँ सरकार गठनका विषयमा थप छलफल अघि बढाइने बताए। उनका अनुसार भोलिदेखि सरकार गठन र मन्त्रालय बाँडफाँटलगायत विषयमा औपचारिक वार्ता सुरु हुनेछ।
केन्द्रमा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य अन्त्य भएपछि लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समीकरण बन्ने तयारी भइरहेको छ। एमाले र नेकपाबीच सहकार्यको सहमति भएपछि प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्चा चुलिएको थियो।
एमालेभित्र मुख्यमन्त्री आचार्यसँगै संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलगायत नेताहरू पनि मुख्यमन्त्रीका आकाङ्क्षी रहेको चर्चा भए पनि अन्ततः पार्टी नेतृत्वले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।








