काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको पहिलो दिनदेखि नै स्थानीय तहमा प्रयोग हुँदै आएको राजस्व व्यवस्थापन प्रणाली ‘सूत्र’ (SuTRA) मा प्राविधिक समस्या देखिएपछि देशभरका पालिकाको राजस्व संकलन प्रभावित भएको छ।
महालेखा नियन्त्रक कार्यालयअन्तर्गत सञ्चालन हुने उक्त प्रणालीमा समस्या आएपछि स्थानीय तहबाट प्रदान गरिने कर, दस्तुर तथा सेवा शुल्कसम्बन्धी सेवामा समेत असर परेको हो। साउन १ गतेदेखि ‘सूत्र’ सफ्टवेयरमा समस्या देखिएपछि अधिकांश पालिकाले राजस्व रसिद जारी गर्न तथा अनलाइन प्रणालीमार्फत भुक्तानी अभिलेखीकरण गर्न कठिनाइ भोगिरहेका छन्।
प्रणालीमा आएको समस्याका कारण सेवाग्राहीले घण्टौं कुर्नुपर्ने अवस्था सिर्जना भएको छ भने कतिपय अवस्थामा सेवा नलिई फर्किनुपर्ने अवस्था आएको स्थानीय तहहरूले जनाएका छन्। केही पालिकाले अस्थायी रूपमा म्यानुअल रसिद प्रयोग गर्ने तयारी गरेका छन् भने केहीले राजस्वसम्बन्धी सेवा सीमित गरेका छन्।
स्थानीय तहका कर्मचारीका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै करका नयाँ दर प्रविष्ट गर्ने, प्रणाली अद्यावधिक गर्ने तथा अन्य प्राविधिक काम एकैपटक हुँदा सफ्टवेयरमा चाप बढेको हो। त्यसका कारण लगइन, रसिद जारी र विवरण प्रविष्टिमा समस्या देखिएको बताइएको छ।
महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक तथा प्रवक्ता दीपक लामिछानेले नयाँ आर्थिक वर्षको सुरुआतसँगै देशभरका स्थानीय तहबाट एकैपटक ठूलो संख्यामा प्रयोगकर्ता प्रणालीमा प्रवेश गर्दा केही समय प्राविधिक समस्या आएको जानकारी दिनुभयो।
उहाँका अनुसार स्थानीय तहहरूले नयाँ आर्थिक वर्षका लागि कर तथा शुल्कका दर प्रणालीमा प्रविष्ट गरिरहेका कारण पनि ‘सूत्र’ मा थप भार परेको हो। समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर काम गरिरहेको र सेवा क्रमशः सहज हुँदै जाने उहाँले बताउनुभयो।
उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालले पनि एकैपटक देशभरका स्थानीय तहबाट प्रणाली सञ्चालन हुँदा सर्भरमा अत्यधिक चाप परेको जानकारी दिनुभयो। प्रणालीको क्षमता विस्तार र प्राविधिक सुधारको काम भइरहेको भन्दै उहाँले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय तहलाई संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनले विभिन्न कर, शुल्क र दस्तुर संकलन गर्ने अधिकार दिएको छ। तर ‘सूत्र’ प्रणालीमा आएको अवरोधले स्थानीय तहको दैनिक राजस्व संकलन, वित्तीय व्यवस्थापन र सेवाप्रवाहमा प्रत्यक्ष प्रभाव पारेको छ।





