काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाले गत भदौ २३ र २४ को विध्वंशलाई पुन: स्मरण गराएको छ ।
भदौ २३ को जेनजी आन्दोलनमा गोली प्रहार गर्न तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीले आदेश दिएको भन्दै दुवैमाथि फौजदारी अभियोग चलाउने निर्णय वर्तमान सरकारले गरेको थियो ।
ओली र लेखकलाई जेनजी आन्दोलन दबाएको अभियोगमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले चैत १४ गते पक्राउ गरेका थिए । भदौ २३ मा १९ जना प्रहरीको गोली लागेर मारिएका थिए । अहिले सुनसरीमा प्रहरीकै गोली लागेर एक युवकले ज्यान गुमाएका छन् । २१ जना घाइते भएका छन् । तीमध्ये १२ जनालाई प्रहरीको गोली लागेको छ । सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
देवानगन्ज घटनाले सरकारमा जो भए पनि सडकमा गोली चल्न छाड्दैन । शान्ति सुरक्षा कायम गर्न प्रहरीले बल प्रयोग गर्नैपर्छ भन्ने फेरि पनि पुष्टि गरेको छ । त्यही भएर यो घटनाका कारण अहिले प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङले जेनजी आन्दोलनमा यति जना मार्यौ भनेर ओली र लेखकलाई आरोप लगाउनुको कुनै तुक नभएको विश्लेषण हुन थालेको छ ।
बोलबम यात्राका क्रममा हिंसात्मक घटना भएपछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्ने तयारी गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा सावधानी अपनाउन नसकेको आरोपमा दुवै पदाधिकारीलाई गृह मन्त्रालय झिकाउने तयारी छ । सरकारले घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ । आज साँझ बस्ने सुरक्षा परिषदको बैठकले यस्तो निर्णय गर्न सक्ने बताइन्छ ।
घटना हुँदा सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै एसपी थिएनन् । नेपाल प्रहरीका एसपी बिदामा थिए । सशस्त्र प्रहरीका एसपी अनुसन्धानकालागि केही दिनअघि नै हेडक्वाटर झिकाइएका थिए । डीआईजीसमेत बिदामा भएकाले सरकार यसबारे गम्भीर भएको बताइन्छ ।





