काठमाडौँ । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको सात वर्षपछि सोमबार उद्घाटन गरिएको हो ।

नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरे ।
पहिलो चणमा आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन् ।

ADVERTISEMENT

२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।

ADVERTISEMENT

शिलान्यासको करिब चार वर्षपछि २०८० साउन २२ मा रेस्क्यु टनेलको ब्रेक थ्रु गरिएको थियो । रेस्क्यु टनेल ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।

ADVERTISEMENT

पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।

सुरुङ प्रयोग निशुल्क भने होइन । काठमाडौं भित्रिँदा र बाहिरिँदा काररभ्यानले क्रमश: ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा ११५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २६०, बाहिरिँदा दुई सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि पाँच अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।

नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुंगा सुरुङमार्गमा सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन गुडाइँदैछन् ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । सुरुङमार्गको पश्चिमतर्फ पहिरोको समस्या देखिएकाले केही समय लागेको हो ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले ढिलै भए पनि नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको दाबी गरे । सुरुङमार्ग सञ्चालनमा आउन लागेसँगै सवारीचालक तथा यातायात व्यवसायी पनि उत्साहित छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगासवारीसाधनको इन्धन र समय दुवै बचत हुने बताए ।