काठमाडौं । विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई स्वच्छ र दिगो ऊर्जा प्रविधिसँग जोड्ने उद्देश्यसहित दिगो ग्रुप र घाम पावरबीच रणनीतिक टर्म सिटमा हस्ताक्षर भएको छ ।
इटहरीस्थित दिगो चार्ज पोइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली (ब्याट्री इनर्जी स्टोरेज सिस्टम) विकासका लागि दुई कम्पनीबीच सहकार्य भएको हो ।
यो साझेदारीले नेपालमा स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सहकार्यअन्तर्गत सौर्य ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन चार्जिङ सेवालाई थप प्रभावकारी बनाइने जनाइएको छ ।
दिगो ग्रुपका अनुसार प्रस्तावित प्रणालीमार्फत दिनभर सौर्य ऊर्जाबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरिनेछ । सञ्चित विद्युत्लाई आवश्यकताअनुसार विद्युतीय सवारीसाधन चार्जिङका लागि प्रयोग गरिने व्यवस्था मिलाइनेछ । यसबाट उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमाथिको निर्भरता कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको एकीकृत प्रयोगले ऊर्जा आपूर्तिलाई थप विश्वसनीय बनाउनुका साथै विद्युत्को प्रभावकारी उपयोग सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । साथै, चार्जिङ पूर्वाधारमा नवीकरणीय ऊर्जाको प्रयोगलाई व्यापक बनाउने लक्ष्य पनि राखिएको कम्पनीले जनाएको छ ।
दिगो ग्रुपका व्यवसाय प्रमुख नवीन अधिकारीले नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माण गर्ने अभियानमा यो महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार चार्जिङ स्टेशनहरूमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीलाई एकीकृत गर्दै विद्युतीय यातायातलाई स्मार्ट, स्वच्छ र भरपर्दो बनाउन आवश्यक पूर्वाधार निर्माणको काम अगाडि बढाइएको हो ।
घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले यस परियोजनामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताउँदै सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको संयोजनले ऊर्जा दक्षता वृद्धि गर्नुका साथै नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यो परियोजना भविष्यमा नेपालभर स्थापना हुने स्वच्छ ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रहरूको नमुना परियोजनाका रूपमा विकास हुने अपेक्षा गरिएको छ । स्थानीय रूपमा उत्पादन हुने सौर्य ऊर्जाको उपयोग र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउन, विद्युत् प्रणालीको स्थायित्व बढाउन तथा सञ्चालन खर्च कम गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । साथै, यसले विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई अविरल र भरपर्दो चार्जिङ सेवा उपलब्ध गराउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।
दिगो ग्रुपले विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार तथा दिगो यातायात समाधानमार्फत नेपालमा विद्युतीय यातायातको विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस्तै, घाम पावरले सौर्य ऊर्जा समाधानका माध्यमबाट देशभर स्वच्छ ऊर्जा प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।
दुवै संस्थाले ऊर्जा र विद्युतीय यातायात क्षेत्रलाई एकीकृत गर्दै नेपाललाई स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्यतर्फ अग्रसर गराउने तथा शून्य कार्बन उत्सर्जनको दीर्घकालीन लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।







