काठमाडौँ । गायक रामकृष्ण ढकाल आफ्नो निर्माणमा बनेको फिल्म ‘मालती मंगले’ लिएर अस्ट्रेलिया पुगेका छन्। अमेरिकामा फिल्म प्रदर्शन सम्पन्न गरेपछि उनी सिधै अस्ट्रेलिया पुगेका हुन्।
ढकालका अनुसार आगामी २५ जुलाई मा सिड्नीको पारामाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा फिल्मको रेड कार्पेट प्रिमियर गरिनेछ। सो अवसरमा उनले लाइभ ब्यान्डसँग आफ्ना लोकप्रिय गीतहरू पनि प्रस्तुत गर्नेछन्। फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्स प्रालिले खरिद गरेको छ।
अस्ट्रेलियामा नेपाली समुदायको उल्लेख्य उपस्थितिका कारण फिल्म र सांगीतिक कार्यक्रमप्रति आफू उत्साहित रहेको ढकालले बताए। उनका अनुसार अमेरिकामा पनि ‘मालती मंगले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
प्रकु पाण्डेको निर्देशन रहेको फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका छ। वैशाख २५ गते नेपालमा प्रदर्शनमा आएको फिल्मले अभावबीच आत्मीय प्रेमले बाँधिएको ग्रामीण दम्पतीको जीवनमा सामाजिक भ्रमका कारण उत्पन्न हुने द्वन्द्व र उतारचढावको कथा प्रस्तुत गर्छ।
रानी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला, सरिता गिरी तथा बाल कलाकार नरिन थापा र मन्सु सापकोटाको पनि अभिनय रहेको छ।
यसैबीच, ३१ जुलाई मा अस्ट्रेलियाको एडिलेडमा आयोजना हुने ‘दीप श्रेष्ठ तथा रामकृष्ण ढकाल स्वर्णिम सांगीतिक साँझ’ मा नेपाली संगीतका दुई पुस्ताका चर्चित गायक दीप श्रेष्ठ र रामकृष्ण ढकाल पहिलोपटक एउटै मञ्चमा प्रस्तुत हुनेछन्। सारङ्गी इभेन्ट्सको आयोजनामा हुने कार्यक्रममा दुवैले लाइभ ब्यान्डसहित आफ्ना चर्चित गीतहरू गाउनेछन्।
त्यसअघि २८ जुलाई मा न्युक्यासलमा न्युली इभेन्ट एन्ड इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा रामकृष्ण ढकाल मुक्ति एन्ड रिभाइभल ब्यान्डसँग पनि प्रस्तुत हुने कार्यक्रम छ।






