काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भइरहेको भन्दै शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति’को अगुवाइमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ अनुसार दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था गरिनुपर्ने माग गरेका छन्।
हाल आफूहरूलाई ऐनविपरीत लामो समयसम्म काममा खटाइने गरिएको उनीहरूको गुनासो छ। उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइए श्रम ऐनअनुसार ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने माग पनि अघि सारेका छन्।
त्यसैगरी, सरकारले बजेटमार्फत घोषणा गरेको तलबवृद्धि र विगतको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको बढेको तलब तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।
एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेपछि एमडी/एमएस/एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्यअनुभवको व्यवस्था खारेज गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन्। प्रदर्शनकारी चिकित्सकहरूले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।






