काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) र भोलि (आइतबार) देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण २३ भन्दा बढी जिल्लामा बाढी, पहिरो तथा डुबानको उच्च जोखिम रहेको भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

ADVERTISEMENT

उच्च जोखिममा रहेका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।

प्राधिकरणले ती जिल्लामा विशेषगरी रातिको समयमा सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ। साथै, मौसम तथा सडकको अवस्थाअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

ADVERTISEMENT

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्राधिकरणले भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै आगामी दुई दिन देशभर सतर्क रहन सबैलाई अनुरोध गरेको छ।