काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा मुसलधारेदेखि अति भारी (आरिघोप्टे) वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा मुसलधारे वर्षा हुन सक्छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरोको जोखिमप्रति सचेत रहन अनुरोध गरिएको छ।

ADVERTISEMENT

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने बर्दियाको ताराताल, कास्कीको याङ्जाकोट र चितवनका केही क्षेत्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा अति भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख गरिएको छ।

ADVERTISEMENT

विभागका अनुसार भोलि र पर्सिसम्म पनि मनसुन सक्रिय रहनेछ। काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहने भएकाले नदी किनार तथा पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।