ललितपुर। बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।
काग, गिद्ध, हाँसलगायत पक्षीमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो। सङ्क्रमित पक्षीको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन पूरा गरेपछि वातावरणीय नमुना परीक्षणमा बर्डफ्लु भाइरस नदेखिएसँगै चिडियाखाना खोलिएको हो।
चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले गरेको हो।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार अब चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म अवलोकनका लागि खुला रहनेछ। आगन्तुकले भने बेलुका ५ बजेसम्म चिडियाखाना परिसरबाट बाहिरिसक्नुपर्नेछ।
चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यसअघि सङ्क्रमित देखिएका खोरहरूलाई रातो रिबनले घेरिएको भन्दै ती क्षेत्रमा नजिक नजान अनुरोध गरिएको छ।
यस्तै, चिडियाखाना प्रशासनले आगन्तुकलाई खुला स्थानमा खानेकुरा नखान, फोहर तोकिएको स्थानमा मात्र फाल्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ।






