काठमाडौँ । देशभर जारी अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्।

बिहान ६ बजेसम्मको विवरणअनुसार धेरै सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ। कोशी प्रदेशको भोजपुरमा बाढीका कारण मध्य पहाडी लोकमार्गअन्तर्गत बोखिम खण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

ADVERTISEMENT

इलामको राजदुवाली क्षेत्रमा निरन्तर वर्षापछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। दुवै स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ।

ADVERTISEMENT

बागमती प्रदेशमा सबैभन्दा बढी असर परेको छ। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरस्थित कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो जाँदा सडकको अवस्था प्रभावित भएको छ।

बकैया–११ खण्ड पूर्ण रूपमा बन्द भएको छ भने भीमफेदी खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडक खण्ड तथा बागलुङको इनारपानीस्थित मध्य पहाडी लोकमार्गमा पहिरो र वर्षाका कारण सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। गुल्मीका कालीगण्डकी करिडोर र रुद्रबेणी सडक खण्डका विभिन्न तीन स्थानमा पहिरो खसेपछि ती सडकमा पनि एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखे पनि निरन्तर वर्षा र थप पहिरोको जोखिमका कारण काममा कठिनाइ भइरहेको जनाएको छ। एकतर्फी सञ्चालन भइरहेका सडकमा सवारी चाप बढ्न सक्ने भएकाले यात्रु तथा चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरी र सडक विभागले अत्यावश्यक बाहेकको यात्रा नगर्न, यात्रा गर्नैपरे सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।