काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार केही स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा रातिको समयमा सवारी आवागमनसमेत रोकिएको छ।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्गको राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको राँके–रवि–भेडेटार सडक खण्ड पनि बन्द छ। भोजपुर र खोटाङमा मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा विपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्गको जिरोकिलो–कोदारी खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने रसुवाको पासाङ ल्हामु राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
गण्डकी प्रदेशको बागलुङमा कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण बन्द भएका छन्। कर्णाली प्रदेशको जाजरकोटस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षाका कारण काम प्रभावित भइरहेको छ। लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।





