काठमाडौं । ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले जावलाखेलमा स्मार्ट सेफ्टी ब्यारेड सञ्चालनमा ल्याएको छ।
महानगरका अनुसार नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुका अनुसार ट्राफिक बत्तीसँग समन्वय गरेर सञ्चालन हुने स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्नेछ। हरियो बत्ती बल्दा ब्यारेड स्वतः खुल्ने र रातो बत्ती बल्दा स्वतः बन्द हुने व्यवस्था गरिएको छ, जसले रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

ADVERTISEMENT

ब्यारेडमा जडान गरिएको सेन्सर प्रणालीका कारण पैदलयात्री बीचमै रहेका बेला ब्यारेड बन्द हुँदैन। यसले सडक पार गरिरहेका व्यक्तिलाई सुरक्षित रूपमा आवतजावत गर्न सहयोग गर्ने र सम्भावित दुर्घटनाको जोखिम कम गर्ने महानगरको भनाइ छ।

ADVERTISEMENT

महानगरले जेब्रा क्रसिङबाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति रोक्न सडकको दायाँबायाँ गमला राख्ने तयारी पनि गरेको जनाएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतमा ट्राफिक नियमको बेवास्ता तथा जेब्रा क्रसिङको उचित प्रयोग नहुँदा पैदलयात्री दुर्घटनाका घटना बढेको उल्लेख गर्दै स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्री र सवारी चालक दुवैका लागि सुरक्षित तथा व्यवस्थित सडक वातावरण निर्माण गर्ने यो प्रबिधि प्रयोग गरिएको र हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा स्मार्ट सेफ्टी ब्यारेड जडान गरिएको बताए।

ADVERTISEMENT

परीक्षण सफल भए ललितपुर महानगरभित्र ट्राफिक लाइट रहेका सबै चोकमा यसलाई क्रमशः विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।