काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडानको काम पूरा गरेको छ। बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको सडकखण्डमा जडान गरिएको उक्त प्रणाली अब औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार स्मार्ट स्ट्रिट लाइटको औपचारिक शुभारम्भ बुधबार साँझ बालकुमारी पुलबाट गरिनेछ। उनका अनुसार कार्यक्रमका क्रममा बत्ती बालेर प्रणाली सञ्चालनमा ल्याइनेछ।
महर्जनले नेपालमा पहिलोपटक ललितपुर महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइट प्रणाली प्रयोगमा ल्याएको दाबी गरेका छन्। चक्रपथबाहेक महानगर क्षेत्रका अन्य प्रमुख सडकमा समेत स्मार्ट स्ट्रिट लाइट जडान भइसकेको उनले जानकारी दिए।
महानगरका अनुसार चक्रपथमा नयाँ प्रणाली सञ्चालनमा आएपछि रातको समयमा सडक थप उज्यालो हुनुका साथै यात्रु तथा सवारीसाधनको आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ। यसलाई शहरी पूर्वाधार विकाससँगै रातको समयमा सुरक्षा मजबुत बनाउने योजनाका रूपमा अघि बढाइएको महानगरले जनाएको छ।
महानगर प्रमुख महर्जनले स्मार्ट लाइट सञ्चालनपछि ललितपुरको रात्रीकालीन दृश्यसमेत थप आकर्षक देखिने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फबाट अवतरण गर्ने यात्रुले रातको समयमा तलतर्फ हेर्दा उज्यालो ललितपुर देख्न सक्ने उनको भनाइ छ।
महानगरपालिकाले चक्रपथसँगै भित्री क्षेत्रका मुख्य सडकमा समेत स्मार्ट स्ट्रिट लाइट विस्तार गरिसकेको जनाएको छ। महानगरका अनुसार यसले रातको समयमा सडकको दृश्यता बढाउनुका साथै शहरी वातावरणलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग गर्नेछ।





