काठमाडौं । तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयको गेटअघि पार्किङ गरेर छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालको भएको खुलेको छ।

बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको उक्त गाडी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य रवि जयसवालको भएको पुष्टि भएको हो। उनी महाधिवेशनअघि उक्त विभागमा आबद्ध थिए।

ADVERTISEMENT

जयसवालका बुबा कन्थमणिप्रसाद कलवार रौतहटको गरुडा नगरपालिकाका मेयर हुन्। उनी गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका थिए। जयसवालका अनुसार भने उनी स्वयं यसअघि नै रास्वपामा आबद्ध भएका थिए।

उनले उक्त गाडी करिब एक महिनाअघि खरिद गरेको र हालसम्म आफ्नो नाममा नामसारी हुन बाँकी रहेको बताएका छन्। गाडी सानिमा बैंकबाट कर्जा लिएर खरिद गरिएको अभिलेखमा उल्लेख छ। प्रहरीले कान्तिपुर कार्यालयअगाडि पार्किङ गरेर छाडिएको उक्त गाडी क्रेनको सहायताले उठाएर लगिसकेको छ।

ADVERTISEMENT

यसैबीच, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयअगाडि पनि यसैगरी पार्किङ गरेर छाडिएका अन्य गाडी प्रहरीले हटाएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवासअगाडि पनि यस्तै अवस्थामा गाडी फेला परेको र त्यस क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ।