काठमाडौं । नेपाली बजारमा म्याक्ससको विद्युतीय पिकअप ई टेरन–९ अब नयाँ भेरियन्टमा आउने भएको छ । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले ई टेरन–९ को तुलनामा कम मूल्य पर्ने ई टेरन–९ कम्फर्ट भेरियन्ट बजारमा ल्याउने तयारी गरेको हो ।

कम्पनीले सामाजिक सञ्जालमार्फत प्रचार सुरु गरिसकेको छ । आधिकारिक मिति सार्वजनिक नगरिए पनि साउनभित्रै नयाँ भेरियन्ट बजारमा आउने बताइएको छ ।

ADVERTISEMENT

हाल नेपाली बजारमा उपलब्ध म्याक्सस ई टेरन–९ को मूल्य एक करोड २८ लाख रुपैयाँ छ । नयाँ कम्फर्ट भेरियन्ट भने केही कम मूल्यमा उपलब्ध हुने कम्पनी स्रोतले जनाएको छ । मूल्य घटाउन चल्तीको मोडलमा उपलब्ध केही सुविधा हटाइने सम्भावना रहेको छ ।

म्याक्सस ई टेरन–९ आफ्नो ठूलो ब्याट्री क्षमता र शक्तिशाली प्रदर्शनका कारण चर्चामा रहेको विद्युतीय पिकअप हो । यसमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ, जसले एकपटक पूर्ण चार्जमा ५६० किलोमिटरसम्मको यात्रा गर्नसक्ने दाबी गरिएको छ ।

ADVERTISEMENT

यो विद्युतीय पिकअप चार पांग्रे सञ्चालन प्रणाली अर्थात् फोर ह्वील ड्राइभ हो । यसका अगाडि र पछाडि जडान गरिएको विद्युतीय मोटरले कुल ३२५ किलोवाट शक्ति उत्पादन गर्छ भने यसले ७०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

ई टेरन–९ मा ११ किलोवाटको एसी चार्जर प्रयोग गर्दा पूर्ण चार्ज हुन करिब १२ घण्टा लाग्छ । साथै, यसले ११५ किलोवाटसम्मको डिसी फास्ट चार्जिङलाई समेत समर्थन गर्छ ।
ई टेरन–९ ठूलो आकारको विद्युतीय पिकअप हो । यसको लम्बाइ ५५०० मिलिमिटर, चौडाइ १९९७ मिलिमिटर र उचाइ १८७४ मिलिमिटर रहेको छ । साथै, यसमा २३० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ, जसले खराब सडक र अफरोड यात्राका लागि समेत उपयुक्त बनाउँछ।

ई टेरन–९ मा स्वचालित वातानुकूलन प्रणाली, तातो बनाउने स्टेयरिङ ह्विल, विद्युतीय रूपमा समायोजन गर्न मिल्ने सिट, पानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, चालक सिट मसाज सुविधालगायतका प्रिमियम फिचरहरू छन् ।

ई टेरन–९ मा ३६० डिग्री क्यामेरा, अगाडि तथा पछाडिको पार्किङ सेन्सर, स्वचालित आपतकालीन ब्रेकिङ प्रणाली, लेन किप असिस्ट, ब्लाइन्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, सातवटा एयरब्यागलगायतका सुरक्षा सुविधा उपलब्ध छन् ।

म्याक्सस ई टेरन–९ ले युरो एनक्याप सुरक्षा परीक्षणमा ५ स्टार रेटिङसमेत प्राप्त गरेको छ । कम मूल्यमा नयाँ भेरियन्ट आएपछि ई टेरन–९ ले नेपाली विद्युतीय पिकअप बजारमा थप प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।