काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअघि गाडी पार्क गरेर छोडेको पाइएको छ ।
थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर छोडिएको छ । गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको छ । स्थानीयले बिहान ७ बजे एकजना व्यक्तिले गाडी बाटाेमै छेकेर राख्दै प्रहरीकाे भ्यानमा चढेर गएकाे बताएका छन् ।
आजै विभिन्न सञ्चारगृह अघि पनि मूल ढोका छेकिने गरी सवारीसाधन पार्क गरिएको थियो । ती गाडीलाई प्रहरीले क्रेन लगाएर उठाएर लगेको छ ।
कान्तिपुर, अनलाइनखबर र हिमालय टिभीको कार्यालय अगाडि तीनवटा पार्क गरेर राखिएका गाडीमध्ये दुईवटा बैंकको नाममा र एउटा रवि जयसवालको नाममा रहेको बताइएको छ । कान्तिपुर पब्लिकेसनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जयसवाललको कान्छा छोरा रवि जयसवालको रहेको छ ।





