काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि त्यसलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा झरेको छ। आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

ADVERTISEMENT

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६८ स्टकको ५१ हजार २९५ पटकको कारोबारमा सात अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको चार करोड १७ लाख २५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ऋणपत्रको कारोबार बढेसँगै केही दिनयता कारोबार रकम बढ्दो क्रममा छ । आज एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७–८८ को ४८ करोड ४६ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५–८६ किनबेच भएको छ । एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०९१ को कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

सोमबार मूल्य बढेका शीर्ष १० स्टकहरुको पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ११.२८ प्रतिशत घटेको छ ।