काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैंयाँ बराबरको ऋणपत्र बिक्री गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (छ)’ जारी गर्न लागिएको हो ।

बैंकले सोमबार सुचना जारी गर्दै एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत निष्कासन गर्न लागेको जनाएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बोलकबोल असार २९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ भने सोही दिन निष्कासन गरिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकको भनाइ छ ।

यो ऋणपत्रमा न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँकै गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा परिपक्व अवधि एक वर्षको रहनेछ र साँवा रकम २०८४ असार २९ गते फिर्ता गरिनेछ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्नेछन् ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था राष्ट्र बैंकले जानकारी दिएको छ ।