काठमाडौँ। फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच भएको खेलका क्रममा अर्जेन्टिनी कप्तान लिओनल मेसी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिन्हेरोबीच मैदानमै तनावपूर्ण संवाद भएको छ।

खेलको पहिलो हाफमा अर्जेन्टिनाले पाएको फ्री–किकअघि रेफ्री पिन्हेरोले मेसीलाई पछाडि हट्न निर्देशन दिएका थिए। निर्देशन दिने क्रममा प्रयोग गरिएको लवज र इशाराप्रति असन्तुष्ट बनेका मेसीले तत्कालै सम्मानजनक व्यवहार गर्न आग्रह गर्दै प्रतिक्रिया दिएका थिए।

ADVERTISEMENT

फ्री–किकपछि पनि दुवैबीच केहीबेर संवाद जारी रहेको दृश्य टेलिभिजन क्यामेरामा कैद भएको थियो। मेसीले संयमित रूपमा हात पछाडि बाँधेरै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। यद्यपि घटनामा कुनै पनि खेलाडी वा रेफ्रीमाथि कारबाहीस्वरूप कार्ड देखाइएको थिएन।

ADVERTISEMENT

३८ वर्षीय पिन्हेरो युरोपका उदीयमान रेफ्रीमध्ये एक मानिन्छन्। च्याम्पियन्स लिगलगायतका ठूला प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका उनी यसपटक विश्वकप सञ्चालन टोलीमा पनि समावेश भएका छन्।

खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि असार ३१ गते बुधबार राति पौने १ बजे इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

ADVERTISEMENT

यस्तै पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३० गते मंगलबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ। २६औँ संस्करणको फिफा विश्वकपको फाइनल साउन ३ गते आइतबार राति अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ।