काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको कमब्याक फिल्म ‘आचार्य’ को प्रदर्शन मिति अन्ततः तय भएको छ।

यसअघि साउन २९ गते प्रदर्शन हुने चर्चा रहे पनि अब फिल्म आगामी असोज ९ गते, विजयादशमी (दशैं)लाई लक्षित गर्दै देशभर प्रदर्शनमा आउने भएको छ।

फिल्म निकट स्रोतका अनुसार प्रदर्शन मिति छनोट रणनीतिक रूपमा गरिएको हो। असोज ९ मा रिलिज हुँदा तीन सातापछि सुरु हुने दशैं बिदाको फाइदा उठाउने अपेक्षा निर्माण पक्षको छ। यदि फिल्मले सुरुवाती दिनमा सकारात्मक प्रतिक्रिया पायो भने दशैंको बिदामा पनि राम्रो व्यापार गर्ने विश्वास गरिएको छ।

ADVERTISEMENT

यसअघि साउनमै रिलिज गर्ने तयारी भए पनि ग्राफिक्स, ब्याकग्राउन्ड स्कोर तथा पोस्ट–प्रोडक्सनका केही काम बाँकी रहेकाले प्रदर्शन असोजसम्म सारिएको हो। स्रोतका अनुसार निखिलले अहिले पनि काठमाडौंमा फिल्मका केही महत्वपूर्ण दृश्यको छायांकन गरिरहेका छन्। फिल्मलाई ठूलो स्केलमा निर्माण गरिएको बताइएको छ।

ADVERTISEMENT

‘आचार्य’ मार्फत निखिल उप्रेती ११ वर्षपछि निर्देशनमा फर्किएका हुन्। उनले यसअघि सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए।

ADVERTISEMENT

अभिनेत्री सञ्चिता लुइँटेल निर्माता रहेको फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासियालगायतका कलाकारहरूको अभिनय रहेको छ। भारतीय अभिनेता दीपराज राणाको पनि फिल्ममा महत्वपूर्ण भूमिका छ।