जनकपुरधाम — मिटरब्याज र फर्जी तमसुकमार्फत हुने शोषणविरुद्ध किसान–मजदुरले जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु गरेका छन्। तिरहुतिया गाछीबाट सुरु भएको मार्च काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्ने लक्ष्यसहित अघि बढेको आयोजकले जनाएको छ।
न्याय मार्चको उद्घाटन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले फर्जी लिखत र अदालती प्रक्रियाको दुरुपयोग गर्दै किसानको जग्गा हडप्ने तथा उनीहरूलाई आफ्नै भूमिबाट विस्थापित गर्ने काम भइरहेको आरोप लगाए।
अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम नगरेको भन्दै पीडितहरू पुनः आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनका अनुसार यसपटकको मार्च काठमाडौं पुगेर सरकारसमक्ष आफ्ना माग र पीडा प्रत्यक्ष रूपमा राखिनेछ।
मार्च सुरु गर्नुअघि पीडितहरूले मसाल जुलुस प्रदर्शन गरेका थिए भने फर्जी तमसुकहरू प्रतीकात्मक रूपमा जलाएर आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनकारीले मिटरब्याजबाट हुने शोषणको अन्त्य, फर्जी तमसुक खारेजी र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।










