काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको वित्तीय अवस्थाले सेयरधनीलाई औसत १२.३० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने संकेत गरेको छ । चैत मसान्तसम्म प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा सकारात्मक रहेका बैंकहरूले न्यूनतम १.९३ प्रतिशतदेखि अधिकतम ३९.३४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको हो ।

यस अवधिमा देशका १४ वटा वाणिज्य बैंकहरूले ५१ करोडदेखि ४ अर्ब ४ करोड रुपैयाँसम्म वितरणयोग्य नाफा आर्जन गरेका छन् । ती बैंकहरूको औसत लाभांश क्षमता करिब १०.५३ प्रतिशत रहेको देखिन्छ, जसले समग्र बैंकिङ क्षेत्र मध्यम स्तरको प्रतिफल दिने अवस्थामा रहेको संकेत गर्दछ ।

ADVERTISEMENT

बैंकहरूबीचको तुलना गर्दा एभरेष्ट बैंक र नबिल बैंकले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका छन् । एभरेष्ट बैंकले ४ अर्ब ८ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर ३४.०९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ भने नबिल बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ नाफासहित २१.१६ प्रतिशत लाभांश क्षमता देखाएको छ ।

यसैगरी, सिद्धार्थ बैंकले २ अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गर्दै २०.१६ प्रतिशत लाभांश क्षमता बनाएको छ भने सानिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफासहित १८.५७ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३५ करोड रुपैयाँ वितरणयोग्य नाफाबाट १७.६९ प्रतिशत लाभांश क्षमता बनाएको छ भने नेपाल एसबिआई बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफासहित १०.७५ प्रतिशत र ग्लोबल आईएमई बैंकले करिब ३ अर्ब रुपैयाँ नाफासहित १०.५ प्रतिशत लाभांश क्षमता कायम गरेको छ ।

ADVERTISEMENT

यसैबीच, केही बैंकहरूको लाभांश क्षमता १० प्रतिशतभन्दा तल रहेको छ । माछापुच्छ्रे बैंकले ७६ करोड रुपैयाँ नाफासहित ७.८१ प्रतिशत, कृषि विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफासहित ७.७८ प्रतिशत, एनएमबी बैंकले ९२ करोड रुपैयाँ नाफासहित ५.३४ प्रतिशत र प्राइम कमर्सियल बैंकले ७७ करोड रुपैयाँ नाफासहित ४.७६ प्रतिशत लाभांश क्षमता देखाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ३१ करोड रुपैयाँ नाफासहित ३.८ प्रतिशत, नेपाल बैंकले ३२ करोड रुपैयाँ नाफासहित २.९२ प्रतिशत तथा लक्ष्मी सनराइज बैंकले ५१ करोड रुपैयाँ नाफासहित १.९३ प्रतिशत लाभांश क्षमता राखेका छन्, जुन न्यून स्तरको प्रतिफल हो ।

अर्कोतर्फ, कुमारी बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । यी बैंकहरूले चालू आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ ।

विश्लेषकहरूका अनुसार बैंकिङ क्षेत्रको समग्र अवस्था मिश्रित देखिएको छ । केही ठूला बैंकहरूले बलियो नाफा र उच्च लाभांश क्षमता कायम राखे पनि अन्य बैंकहरू भने अझै वित्तीय दबाबमा रहेका छन् । आगामी त्रैमास र वार्षिक वित्तीय विवरणले बैंकहरूको वास्तविक लाभांश वितरण क्षमता स्पष्ट पार्ने  छ ।