काठमाडौं । अभिनेता राजेश हमालले कुनै पनि बाह्य शक्तिको प्रभावका कारण नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाले प्रभावित वर्तमान विश्वमा नेपालले सधैं आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। सबै मुलुकसँग मित्रवत् सम्बन्ध कायम राख्नुपर्ने तर कुनै पनि बाह्य शक्तिको प्रभावले नेपालको स्वतन्त्र निर्णय क्षमतामा असर पर्न नदिनुपर्ने उनको भनाइ छ।
हमालले राष्ट्रको वास्तविक शक्ति राजनीतिक संस्थालाई सबल बनाउने, विधिको शासन सुदृढ गर्ने र दलगत राजनीतिभन्दा माथि राष्ट्रलाई राख्न सक्ने क्षमतामा निहित रहेको उल्लेख गरेका छन्।
उनले कुनै पनि सरकारको पहिलो सय दिनको मूल्याङ्कन प्रतिबद्धता वा घोषणाभन्दा पनि सरकारले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा हुनुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाली जनताले अहिले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरिरहेको उनको भनाइ छ।
हालैका युवा आन्दोलन र राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै हमालले ती आन्दोलनले जनताभित्र रहेको असन्तुष्टि र परिवर्तनको आकाङ्क्षालाई उजागर गरेको टिप्पणी गरेका छन्। उनले सबैलाई विवेकशील र एकताबद्ध रहँदै राजनीतिक विचारधाराभन्दा माथि नेपालप्रतिको प्रेमलाई प्राथमिकता दिन आग्रह गरेका छन्।










