काठमाडौं । एसियाली विकास बैकका अध्यक्ष मासातो कान्डाले नेपाललाई साढे तीन खर्ब ऋण सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग मंगलबार सिंहदरबारमा आधा घन्टा भएको छलफलपछि कान्डाले नेपालका लागि ठूलो परिमाणमा ऋण सहयोग गर्ने घोषणा गरेका हुन् ।
कान्डाले प्रधानमन्त्रीलाई भेटेलगत्तै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानीतर्फ उहाँ (प्रधानमन्त्री बालेन) को महत्वाकांक्षी सुधारहरूलाई समर्थन गर्ने एडिबीको दृढ प्रतिबद्धतालाई मैले पुष्टि गरें। एडिबीले २०२९ सम्ममा २.४ अर्ब डलरको थप सहयोगसहित नेपालको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अगाडि बढिरहेको छ, जसले प्रधानमन्त्रीको दृष्टिकोणलाई जमीनमा परिणाममा रूपान्तरण गर्न मद्दत गर्नेछ।’
कान्डाले बालेनलाई भेट्न पाउनु र उनले प्राप्त गरेको बलियो जनादेशका लागि बधाई दिन पाउनु सम्मानको कुरा भएको उल्लेख गरेका छन् । कान्डाले ६० वर्षदेखि, नेपाल र एडिबीले कठिनाइ र प्रगतिमार्फत सुरक्षित विद्यालय, स्वच्छ ऊर्जा, बलियो पूर्वाधार र राम्रो अवसरहरू प्रदान गर्दै सँगै काम गरेको स्मरण ष्रेका छन् । ‘म नेपालका जनताका लागि मूर्त र दिगो प्रगति प्रदान गर्न प्रधानमन्त्री र उहाँको सरकारसँग नजिकबाट काम गर्न तत्पर छु,’ उनले भनेका छन् ।
प्रधानमन्त्री बालेन र एबिडी अध्यक्ष कान्डाबीच के भयो कुराकानी ?
प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका थिए ।
जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।
इडिीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएका थिए । उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्याएका छन् ।






