काठमाडौँ । दुई दिने भ्रमणका लागि एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा नेपाल आइपुगेका छन् । उनी आइतबार राति १० बजे काठमाडौँ आइपुगेका हुन् । उनलाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अध्यक्ष कान्डाले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने छन् । उनी प्रधानमन्त्री बालेनले औपचारिक रुपमा भेट गर्ने पहिलो विदेश पाहुन हुने छन्। प्रधानमन्त्री बालेनले अहिलेसम्म सामूहिक रूपमा मात्र नेपालमा रहेका विदेशी कूटनीतिज्ञ र राजदूतसँग भेटेका छन् । विदेशी पाहुनासँग भने उनले भेटवार्ता गरेका छैनन् । एडिबी अध्यक्ष मासातोसँग बालेनको भेटलाई निकै चासोका साथ हेरिएको छ ।

मासातोले सोमबार दिउँसो ३ बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गर्ने छन् । त्यसपछि उनलले नेपालमा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण तथा अनुगमनसमेत गर्ने छन् । उनले नेपालका लागि केही महत्त्वपूर्ण सहयोगहरुमा एडीबीकातर्पmबाट हस्ताक्षर गर्ने छन् ।

ADVERTISEMENT

सोमबार बिहान एक्समा पोस्ट गर्दै कान्डाले आफू नेपाल निर्णायक घडीमा रहेको अवस्थामा नेपाल आएको उल्लेख गरेका छन् । ‘नेपालले पटकपटक दोहोरिइरहेका धक्काहरु र ठूलो परिवर्तनका बेलामा असाधारण उत्थानशीलता देखाएको छ । तीन अर्ब ९० करोड सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरु सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं,’ उनले भनेका छन् ।

ADVERTISEMENT

नेपालले नयाँ अध्याय सुरु गर्दै गरेको अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भनेर आफूले छलफल गर्ने उनले उल्लेख गरेका छन् । ‘नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दैछ, यो भ्रमणलाई मैले विगत ६ दशकभन्दा लामो साझेदारीका अनुभवका आधारमा देशको अर्को अध्यायलाई एडीबीले कसरी सक्छ भन्ने विषयमा सुन्ने, सिक्ने र छलफल गर्ने अवसरका रुपमा लिएको छु,’ उनले भनेका छन् ।

ADVERTISEMENT