काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको ‘नबिल ग्रिन विक–२०२६’ साताव्यापी कार्यक्रम वृक्षारोपणसहित सम्पन्न गरेको छ। बैंकले आइतबार काठमाडौंको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेर अभियानको समापन गरेको हो।

असार १५ गतेदेखि सुरु भएको ग्रिन विक अन्तर्गत वातावरण संरक्षण, दिगो विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

वृक्षारोपण कार्यक्रम नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको सहकार्यमा सम्पन्न भएको हो। रोपिएका बिरुवाको संरक्षणको जिम्मेवारी टोखा नगरपालिका–२ वडा कार्यालयले लिने जनाइएको छ।

ADVERTISEMENT

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारी, स्थानीयवासी तथा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो।

ADVERTISEMENT

सीईओ ज्ञवालीले दिगो बैंकिङप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए। उनले बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

ADVERTISEMENT

बैंकका अनुसार पछिल्लो पाँच वर्षमा दिगो बैंकिङलाई रणनीतिक प्राथमिकतामा राख्दै नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, एमएसएमईमा ४५ अर्ब ७७ करोड रुपैयाँ, महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ तथा स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ लगानी गरिएको छ।

यस्तै, बैंकले यी लगानीमार्फत १ लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको, जसमा ३१ प्रतिशत महिलाको सहभागिता रहेको जनाएको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाँच वर्षमा २५ करोड ६० लाख रुपैयाँ खर्च गरिएको र नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत १ हजार ५७७ उद्यमीलाई तालिम प्रदान गरिएको पनि बैंकले उल्लेख गरेको छ।

वातावरणीय संरक्षणतर्फ बैंकले नवीकरणीय ऊर्जा परियोजनामा गरेको लगानीबाट ३९ हजार ४५० टनभन्दा बढी कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुगेको दाबी गरेको छ। साथै डिजिटाइजेसनमार्फत २० मेट्रिक टनभन्दा बढी कागज तथा वार्षिक दुई लाख ६२ हजार लिटरभन्दा बढी पानी बचत भएको बैंकले जनाएको छ।

हाल नबिल बैंकले देशभर २६६ शाखा, ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै एनबैंक सेवा सञ्चालन गरिरहेको छ।