काठमाडौं । जेनजी आन्दोलन र त्यसपछिको सामाजिक–राजनीतिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘चंगुल’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशन रहेको फिल्म ‘चंगुल’ ले भ्रष्टाचारले थिलथिलो बनेको देश र त्यसविरुद्ध जागेको युवा पुस्ताको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ।
निर्माता मालती कार्कीका अनुसार गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा सो आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनास्वरूप फिल्मलाई भदौ १९ मा प्रदर्शनमा ल्याउन लागिएको हो।
फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राईलगायत कलाकारको अभिनय रहेको छ। विपिन आचार्य र नन्दनी अधिकारीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन तथा दीपेन्द्र बस्न्यातको छायांकन र सम्पादन रहेको फिल्मले समकालीन सामाजिक यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ।










