काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वालेन्द्र शाह नेतृत्वको सरकारको सय दिनको काम गराईप्रति असन्तुष्ट देखिएका छन् । सरकारले परिणाम दिने भन्दै विधि र प्रक्रिया बाहिर गएर काम गरिरहेको आरोप लगाउँदै उनले १० वर्षअघि नेकपाको तत्कालीन सरकारकै बाटोमा अहिलेको सरकार पनि हिँडेको उनको भनाइ छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा थापाले भने, ‘सरकार परिणाम दिन्छु भनेर विधि र प्रक्रिया विपरीत गइरहेको छ । विगतमा पनि हामीले यस्तो अभ्यास देखेकै हौं । नेकपाको सरकारभन्दा अहिलेको सरकारमा कुनै भिन्नता देखिएन ।’

ADVERTISEMENT

सुकुमबासी हटाउने विषयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै थापाले कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला घर भत्काइदिएको आरोप लगाए । उनले शाह नेतृत्वको रास्वपाको एकल सरकार नागरिकको जीवन (लाइफ) भन्दा सामाजिक सञ्जालको लाइक (लोकप्रियता) मा लाग्दा समस्यामा परेको बताए ।

ADVERTISEMENT

‘‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ। भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैनथ्यो, त्यसैले सुकुमबासी बस्तीमा डोजर चलाइयो। सञ्जालमा चर्चा भयो,’ उनले भने । थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्री शाहको प्रशंसा गरे ।
थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेलाबेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाए ।

‘अहिले पनि प्रदेशको नामहरूको बारेमा समस्या छ । मुद्दाहरू छन् नि त । यो विषयहरूको सन्दर्भ नबुझीकन यसलाई बडो हल्कासँग, अहिले जुन सरकारको म बेलाबेलामा देख्छु, एउटा मन्त्रीले आउनुभएको छ एउटा कुरा बोलिदिनुभएको छ,’ उनले भने, ‘एउटाले एउटा थपिदिएको छ, अर्कोले एउटा ठोकिदिएको छ, अर्कोले एउटा खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ ।’

ADVERTISEMENT

आफूहरू संविधान संशोधनको पक्षमा भएको, तर यसलाई हचुवाको भरमा गर्दा एकैछिनमा आगो बाल्न सक्नेतर्फ उनले सचेत गराए । ‘हामी संविधान संशोधन गर्ने पक्षमा नभएको होइन । बकाइदा गर्नुपर्ने छ । पुनरावलोकन गर्नुपर्ने छ । तर यसरी होइन, यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ,’ थापाले भने, ‘अधिकारको विषय त्यतिबेलासम्म गौण हुन्छ, जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ । तर अधिकारको विषय चलाइयो भनेको बेलामा सबैभन्दा बढी महत्वपूर्ण विषय त्यतिबेला नै बन्छ । भाषाको विषय सबैभन्दा बढी महत्त्वपूर्ण विषय बन्छ । समावेशीताको विषय सबैभन्दा बढी महत्वपूर्ण विषय बन्छ ।’

थापाले विविधताहरूलाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्त्वपूर्ण हुने भन्दै जे मन लाग्यो त्यही पारामा नचल्न आग्रह गरे । ‘हाम्रा विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । तर यी विषयहरूलाई बडो हल्का पाराले, म त भन्छु बडो लफंगा पाराले, जे मन लाग्छ, त्यही बोलिदिएको छ, जे मन लाग्छ त्यही गरिदिएको छ । यो अर्को एउटा चिन्ताको विषय हो,’ उनले भने ।