काठमाडौं । एनआइसी एसिया बैंकले चारवटा सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डडेल्धुराको भुवनेश्वरी माध्यमिक विद्यालय, रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय, अछामको मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र अन्नपूर्ण माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको हो ।
बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका १५३ भन्दा धेरै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा सहयोग होस् भन्ने उद्देश्यले दुईवटा प्रोजेक्टर प्रदान गरेको छ । असार १७ गते एक कार्यक्रमका बीच यस बैंकका डडेल्धुरा शाखा प्रमुख पदमराज भट्टले विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद भट्टलाई प्रोजेक्टरहरु प्रदान गरे ।
त्यसैगरी १०८७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बैंकले प्रिन्टर उपलब्ध गराएको छ । असार १८ गते बैंकका रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगर विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटालाई उक्त प्रिन्टर प्रदान गरे ।
गुणस्तरीय शिक्षा र प्रविधि पहुँचमा सहयोग पु¥याउन भन्दै बैंकले मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छ । असार १८ गते एक कार्यक्रमका बीच ४८३ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयका लागि बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर रावल र प्रधानाध्यापक तेजबहादुर रावललाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्रिन्टर प्रदान गरे ।
बैंकले ४०५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको अछामकै अन्नपूर्ण माध्यमिक विद्यालयलाई बैंकका साँफेबगर शाखा प्रमुख थापाले प्रधानाध्यापक छत्रविक्रम रावललाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे ।
बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँच र प्रशासनिक काममा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।






