काठमाडौं । एनआइसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको PAN Update Option मा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नग आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई इ–टिडिएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक रहेको बैंकको भनाइ छ । प्यान अद्यावधिक भएपछि ग्राहकहरूको करकट्टीको विवरण इ–टिडिएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान हुनेछ ।

जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने विश्वास बैंकले लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएका कारण इ–टिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने विज्ञप्तिमा जनाइएको छ ।

बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगानासमेत अद्यावधिक गर्न भनेको छ । बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाइसी https://www.nicasiabank.com/video-kyc वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको My Profile मा ट्याप गरी Change Email Option छनौट गरी आफ्नो इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सकिने छ ।

ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ । बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले आग्रह गरेको छ ।