काठमाडौं । मोडल तथा अभिनेत्री उषा रजकले आफूलाई सन्जोक कार्की नामक एक कन्टेन्ट क्रियटरले राति राति फोन गरेर ह्यारेसमेन्ट गरेको सार्वजनिक गरेकी छन् । उषाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राति तीनपटकसम्म अनलाइन कल गर्नुको कारण के होला भन्दै प्रश्नसमेत गरेकी छन् ।
आफूलाई राति अनलाइन कल गर्ने व्यक्ति वर्तमान गृहमन्त्री सुधन गुरुङको प्रशंसकसमेत रहेको उषाले खुलासा गरेकी छन् । ‘यसरी राति राति लगातार एक छोरी मान्छेलाई फोन गर्नुको के कारण होला ? हिजो मलाई फ्रेन्ड रेक्वेस्ट आएपछि केही कमन फ्रेन्ड्स देखेर एड गरेकी थिएँ । त्यो माथि वर्तमान सम्माननीय गृहमन्त्रीका प्रशंसक पनि रहेछन्,’ उनले लेखेकी छन् ।
उषाले आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको च्याटको स्क्रिनसटअनुसार सन्जोक कार्कीले उनको स्टोरीमा ‘सो लभ्ली’ भनी प्रतिक्रिया दिएको देखिन्छ। उनले यस्ता साना भनिने दुर्व्यवहारलाई बेवास्ता गर्दा भोलि ठूला अपराध निम्तिने भन्दै यसविरुद्ध बोल्नु आफ्नो सामाजिक दायित्व भएको बताएकी छन्।
उषा रजकले आफ्नो पोस्टमा हालै विवादमा परेका गायक सुजन चापागाईंको प्रष्टीकरणलाई लिएर पनि कडा कटाक्ष गरेकी छन्। केही दिनअघि गायक चापागाईंको एक निजी च्याट सामाजिक सञ्जालमा बाहिरिएपछि उनले आफ्नो बचाउमा लामो प्रष्टीकरण सार्वजनिक गरेका थिए। यसै विषयलाई छेडखानी गर्दै उषाले आफ्नो पोस्टमा लेखेकी छन्, ‘फेरि उहाँले ए, फोन मेरो म्यानेजरले चलाएको थियो, बच्चाले खेलिरहेको थियो भन्नुहोला।’
विगतमा आफ्नै रंगमञ्चका गुरुविरुद्ध ‘मी टू’ को आवाज उठाउँदा आफूमाथि लागेका आरोपहरूको स्मरण गर्दै उषाले हिंसाविरुद्ध बोल्ने महिलाहरूको खुट्टा नतान्न आग्रह गरेकी छन्।
‘हामी सानो भनाउँदा कुराहरूलाई पन्छाउँदा पन्छाउँदै पछि आफै त्यही अपराधको दलदलमा फस्छौं । अनि अन्त्यमा, यसरी छोरी मान्छेले हिंसाको बारे बोल्दा सपोर्ट गर्न सक्दैनौं भने, खुट्टा पनि नतानम् । किनभने भोलि त्यस्तै मान्छेकै छोरी चेली हिंसामा पर्दा हामी बोल्ने चेलीको खुब याद आउँदो रहेछ,’ उनले लेखेकी छन् ।
उनले दुर्व्यवहारमा परेका अन्य पीडितहरूलाई पनि नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न सुझाव दिँदै हेल्पलाइन नम्बर समेत साझा गरेकी छन्। आफूलाई मध्यरातमा फोन गर्ने कार्कीलाई चेतावनी दिँदै उषाले लेखेकी छन्, ‘सिचुएसन फिक्स गर्नुस्। यदि फेरि मलाई राति फोन गर्न चाहनुहुन्छ भने हाम्रो डेट प्रहरी चौकीमा हुनेछ।’










