ललितपुर । ‘ड्रोन’ले मल छरेर ‘मेसिन’बाट धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा ललितपुरको खुमलटारमा आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्न ड्रोन उडाएर महोत्सवको शुभारम्भ गरेका हुन् ।
चौधरीले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन वर्तमान सरकार अगाडि बढिरहेको बताए । ‘आज कृषि पेसा र किसानको सम्मान गर्ने दिन हो, उत्पादनविना देश, बजार र अर्थतन्त्र चल्न सक्दैन, किसानको वास्तविक समस्या पहिचान गरेर समाधान गर्न ध्यान दिनुपर्छ, नेपाललाई आवश्यक धानको परिपूर्तिका लागि नेपाल सरकारले किसानलाई उत्पादनको उचित समर्थन मूल्य, पर्याप्त सिँचाइ व्यवस्था, आवश्यक प्रविधिको विकासमा ध्यान दिनुपर्ने छ, कृषि बिमा, राहतको विषयमा सरकारले काम गरिरहेको जानकारी छ, युवालाई कृषिमा आकर्षित गर्न ध्यान दिएका छौँ, कृषकको मेहनत र पसिनाको योगदानलाई सम्मान गर्नुपर्छ,’ उनले भने ।
राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले नीतिगत व्यवस्थामा राम्रो भएको भए पनि संरचनागत सुधारमा जोड दिनुपर्ने धारणा राख्दै किसान र कृषि अनुसन्धान परिषद्बीचको समन्वय र सम्पर्कलाई जोड दिँदै जलवायु अनुकूलन पोषणयुक्त धानको उत्पादनका लागि ध्यान दिनुपर्ने बताए ।
कृषि सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सहरीकरण र ‘प्लटिङ’का कारण घट्दै गएको खेतीयोग्य जमिनका कारण धानको उत्पादनमा ह्रास आउने अवस्था रहेको भन्दै धानको औषध उत्पादकत्व अभिवृद्धि, दुई चरणमा उत्पादन, सिँचाइको प्रवर्धन र यान्त्रिकीकरणको उपयोगबाट जनशक्ति लागतको न्यूनीकरण गरेर उत्पादकत्व अभिवृद्धि गर्दै सहज आपूर्ति शृङ्खलामा योगदान पु¥याउन लाग्नुपर्नेमा जोड दिए ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कृषि विभागले किसान र सिँचाइका समस्या समाधानका लागि ध्यान दिएको जानकारी गराउँदै धानको न्यूनतम समर्थन मूल्य र नीतिगत व्यवस्थाका लागि ध्यान दिएर काम गरिरहेको जानकारी गराए ।
नेपाल कृषि अनुसन्धान परिषद्का कायममुकायम निर्देशक डा. श्रीमत श्रेष्ठले सहरीकरणको कारणले कृषि भूमिको सङ्कुचन हुँदै गएको अवस्थामा उन्नत जातको धानको बीउ उत्पादन गरेर जनतालाई समृद्ध बनाउन कृषि अनुसन्धान परिषद्ले ध्यान दिएको जानकारी गराए ।
धानको अनुसन्धान र विकासमा सक्रिय संस्था इरीका नेपाल र बंगलादेशका लागि अन्तर्राष्ट्रिय संयोजक डा. होमनाथ भण्डारीले अनुसन्धान र नवप्रवर्धनमा उत्पादकत्व अभिवृद्धि गर्ने, न्यून जनशक्तिको उपयोगमा बढी उत्पादन गर्ने, क्षमता अभिवृद्धि र न्यून कार्बन रहेको खाद्य पदार्थ उत्पादनका लागि जिनको प्रविधि विकास गर्नेतिर ध्यान दिएको बताए ।









