काभ्रेपलाञ्चोक । हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी ।

जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो । अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता छ ।

यहाँको परम्परा पनि अनौठो, मौसम पनि अनौठो तरिकाले जात्रासँगै मेलोमेसोमा लागेकै पाइन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र भइरहेको पनि यहाँका स्थानीयसँग अनुभव छ । स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । यस वर्षको जात्रा गत शनिबारदेखि सुरु भएको छ ।

ADVERTISEMENT

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो । किम्वदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा मनाउँदै आइएको स्थानीय वृद्ध विकुनारायण ताम्राकार बताउँछन् ।

ADVERTISEMENT

करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर देवतालाई तार्ने काम गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई निकै ठूलो जात्राका रुपमा लिने गरिन्छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गर्ने चलन छ । सोही दिन इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ ।

ADVERTISEMENT

जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा ‘यौन क्रियाकलाप’मा रथलाई एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन्, तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मक्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ ।

रथ जुधाइसँगै भव्यरुपमा अबीर जात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेरा हाली भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् ।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती अबिर जात्रासहित रथ जुधाउन तँछाडमछाड गर्छन् ।

इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जंगमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो, तर पछिल्ला केही वर्षदेखि देवता रुपी रथलाई दिउँसो जुधाउने गरिँदै आएको छ ।