भेनेजुएला । शक्तिशाली भूकम्पमा परी भेनेजुएलामा हालसम्म १४ सयको मृत्यु र ५० हजार बेपत्ता भएका छन् । तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् ।
शनिबार राति एक ११ वर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ । भूकम्पका कारण हजारौँ मानिस वेपत्ता भएका छन् भने ठूलो सङ्ख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन् ।
पहिल्यै आर्थिक संकट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुएलामा भूकम्पको क्षतिका कारण थप संकट आएको छ । जनवरीमा अमेरिकी विशेष बलले तत्कालीन नेता निकोलस मादुरोलाई पक्राउ गरेको थियो ।
लाखौँ मानिसहरूलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव भएको डर छ । विशेषज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा बाँचेकाहरू फेला पार्ने महत्वपूर्ण समय हो। त्यसपछि खोजी शव निकाल्ने कार्यमा परिणत हुन्छ।
नाम दिन नचाहने एक साल्भाडोरका उद्धारकर्मीले भने, ‘यो अवस्थामा उनीहरू (बेपत्ता मानिस) जीवित पाउने सम्भावना कम रहन्छ । भगवानको कृपाले केही जीवित मानिसहरू फेला परेमा यो ठूलो चमत्कार हो ।’
काराबालेडा सहरमा शनिबार साँझ भग्नावशेषबाट ११ वर्षीय बालकलाई उद्धार गरिएको अन्तरिम नेता डेल्सी रोड्रिगेजले बताएका छन् ।
स्थानीय अधिकारीहरूको प्रतिक्रियाप्रति सार्वजनिक आक्रोश बढिरहेको बेला, अमेरिका समर्थित रोड्रिगेजले सहायताको लागि अन्य देशहरूलाई धन्यवाद दिएका छन् । अमेरिकाले सिमोन बोलीभर अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ सी–१७ अमेरिकी सैन्य विमानहरू अवतरण गर्नसक्ने बताएको छ । यसका साथै एउटा नौसेना जहाज तटमा पुगिसकेको छ ।
बुधबारका दुई भूकम्पमा भत्किएका भवनहरूबाट बाँचेका मानिसहरूको खोजीमा स्थानीय बासिन्दाहरूले मेसिनहरूको अभावमा हातले नै भग्नावशेष हटाउने प्रयास गरिरहेका छन् । संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले भने, ‘अहिलेसम्मको अनुमान अनुसार ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।”






