काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई असार १२ गतेसम्म ठाउँ खाली गर्न सूचना जारी गरिएको छ। बागमती सभ्यता एकीकृत विकास समितिले सेन्टरमा रहेका मानिसहरुलाई आफ्नो बैंक खाताको विवरण माग गरेको पनि छ ।

सरकारले दिने भनेको २५ हजार रुपैयाँ भुक्तानीका लागि बैंक विवरण मागिएको छ। सरकारले व्यवस्थित बसोबासमा राख्न नसक्ने भएर हटाउन बैंक विवरण मागेको सुकुम्बासीहरूको बुझाइ छ । हाल यो होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्न रोक लगाएको छ।

ADVERTISEMENT

सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका छन्।सुकुम्वासीहरुले सरकारको यो शैलीमा असन्तुष्टि जनाउँदै कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँस गरेका छन् । उनीहरूले स्थायी विकल्प र बस्ने ठाउँ नदेखाइ जबर्जस्ती निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

ADVERTISEMENT

सुकुम्वासीहरले भूमि समस्या समाधान समिति गठन भइसकेकाले स्थानीय सरकारमार्फत उठिबास गराइएका परिवारको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गर्न, जबर्जस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखी समस्या समाधान गर्न, स्थायी व्यवस्थापन नहुञ्जेलसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधा दिन वा जाने सुरक्षित ठाउँ देखाउन, सरकारी नीति र कार्यक्रममा उल्लेख भएबमोजिम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी केन्द्रित उपयुक्त र उचित स्थायी व्यवस्थापन गर्न माग गरेका छन् ।

यदि स्थायी विकल्पबिना निकाल्न खोजिएमा पहिलेकै बसोबासस्थलमा फर्केर बस्न बाध्य हुने चेतावनी सुकुमवासीको छ ।