काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन तथा मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकलगायत सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्।

आन्दोलनको तयारीबारे बोल्दै रञ्जित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दाबी गरे। ‘हामीलाई अन्याय भएको छ। छिटो नतिजा सार्वजनिक गर्ने नाममा गम्भीर त्रुटि भएको देखिन्छ। कतिपय विद्यार्थी छात्रवृत्तिका लागि आवेदन दिनसमेत समस्यामा परेका छन् भने धेरैको नतिजा अपेक्षाभन्दा फरक आएको छ। त्यसैले हामी आफ्नो आवाज उठाउन सडकमा उत्रिन बाध्य भएका हौँ,’ उनले भने।
आयोजकहरूका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति प्राप्त भइसकेको छ। कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग आवश्यक सुरक्षा व्यवस्थाका लागि समन्वयसमेत गरिएको उनीहरूको भनाइ छ।
विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्यांकन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूका अनुसार यो विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको गम्भीर प्रश्न हो।
नतिजा सार्वजनिक भएपछि चारजना विद्यार्थीले आत्महत्या गरिसकेको र हजारौँ विद्यार्थी मानसिक तनावमा रहेको दाबी गर्दै आयोजकहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
आयोजकहरूले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई माइतीघर मण्डलामा उपस्थित भई शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र विद्यार्थी अधिकारको पक्षमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। उनीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएका छन्।





