भक्तपुर  । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान तथा चालु आर्थिक वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०८३/८४ का लागि भक्तपुर नगरपालिकाको अनुमानित आय–व्यय बजेट प्रस्तुत गरिन्।

विनियोजित बजेटमध्ये चालुतर्फ एक अर्ब ५५ करोड ८९ लाख रुपैयाँ अर्थात् ६१.१३ प्रतिशत, पूँजीगततर्फ ९३ करोड ३१ लाख रुपैयाँ अर्थात् ३६.६० प्रतिशत र वित्तीय व्यवस्थातर्फ पाँच करोड ८० लाख रुपैयाँ अर्थात् २.२७ प्रतिशत बजेट छुट्याइएको छ।

बजेट वक्तव्यमा नगरवासीको भावना र आवश्यकतालाई ध्यानमा राख्दै शैक्षिक विकास तथा शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ।

ADVERTISEMENT

त्यस्तै, नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधायुक्त बनाउँदै विशेषज्ञ सेवा विस्तार गर्ने उद्देश्यले यसै आर्थिक वर्षभित्र एमआरआई सेवा र आईसीयू सेवा सञ्चालनका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको छ। समग्र स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि ३५ करोड ६४ लाख रुपैयाँ अर्थात् १३.९७ प्रतिशत बजेट छुट्याइएको छ।

ADVERTISEMENT

नगरपालिकाले सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष सात करोड ९० लाख रुपैयाँ, भौतिक पूर्वाधार निर्माणका लागि ३५ करोड रुपैयाँ अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रवर्द्धनका लागि तीन करोड ८० लाख रुपैयाँ, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापनका लागि २३ करोड १५ लाख ८० हजार रुपैयाँ, खेलकुद विकास तथा पूर्वाधार निर्माणका लागि तीन करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ।

यस्तै, विपद्को समयमा जनताको सुरक्षा, उद्धार तथा पुनःस्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ सुदृढ बनाउन ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

कृषि क्षेत्रअन्तर्गत पूर्वाधार विकास, बजारीकरण, सहुलियत तथा अनुदान, प्रांगारिक खेती, वातावरण संरक्षण, संस्थागत सहयोग तथा अध्ययनसम्बन्धी कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ। साथै, नगरपालिकाका लागि आवश्यक जग्गा खरिद तथा सार्वजनिक भवनहरूको मर्मतसम्भारका लागि पनि बजेट विनियोजन गरिएको छ।

नगरसभाकै सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक, २०८३’ र ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गरिन्।

नगरसभाको अर्को बैठक असार १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।