लन्डन । बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन् । सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री ड्यारेन जोन्सले नेतृत्व दौडमा सहभागी नहुने स्पष्ट गरेपछि बर्नह्यामको बाटो थप सहज बनेको छ ।

राजीनामा घोषणा गरिसकेका प्रधानमन्त्री किर स्टार्मरले आफ्नो कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता बढाउँदै राजनीतिक विरासत सुरक्षित गर्ने प्रयास गरिरहेका छन् ।

स्टार्मरले सोमबार पदत्याग गर्ने योजना सार्वजनिक गरेका थिए । लेबर पार्टीले नयाँ नेता चयन गरेपछि केही साताभित्र उनी प्रधानमन्त्री पदबाट बाहिरिने छन् । बुधबार उनले संसद्मा साप्ताहिक प्रधानमन्त्री प्रश्नोत्तर सत्रको सामना गर्नुपर्नेछ भने त्यसपछि युक्रेन युद्ध, युरोपेली सुरक्षा र मध्यपूर्वको अवस्थाबारे छलफल गर्न बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

बर्लिनमा जर्मनी, फ्रान्स, इटाली, पोल्यान्ड र बेलायत सम्मिलित ‘ई–५’ समूहको बैठकमा उनको सहभागिताले कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय मुद्दामा उनले दिएको प्राथमिकतालाई झल्काउँछ । घरेलु राजनीतिक दबाबका बीच पनि युक्रेनलाई सहयोग तथा इरानसँग सम्बन्धित क्षेत्रीय तनावको असर व्यवस्थापनका लागि युरोपेली साझेदारहरूसँग समन्वय गर्न उनी सक्रिय देखिएका छन् ।

ADVERTISEMENT

लेबर पार्टीभित्र केही नेताहरूले बर्नह्यामका नीति र दृष्टिकोणमाथि खुला बहस आवश्यक रहेको भन्दै नेतृत्व प्रतिस्पर्धा हुनुपर्ने धारणा राखेका थिए । यही उद्देश्यले ड्यारेन जोन्सलाई उम्मेदवारी दिन प्रोत्साहन गरिएको थियो र बर्नह्यामले सांसद तथा पार्टी सदस्यहरूसमक्ष आफ्ना नीति र कार्यक्रमको परीक्षण गराउने अवसर प्राप्त हुने अपेक्षा गरिएको थियो । तर अर्कोतर्फ, नेतृत्व प्रतिस्पर्धाले पार्टीभित्रको विभाजन उजागर गर्ने र राजनीतिक अनिश्चितता लम्ब्याउने तर्क पनि प्रस्तुत गरिएको थियो ।

स्काई न्युजसँग कुरा गर्दै जोन्सले नेतृत्वको दौड आफूले नलड्ने स्पष्ट पारे । यद्यपि उनले बर्नह्यामलाई आर्थिक नीतिमा अत्यधिक वामपन्थी दिशातर्फ नजान सुझाव दिए । व्यापारिक तथा वित्तीय क्षेत्रका केही व्यक्तिहरूले लेबर सरकारको सम्भावित आर्थिक नीतिप्रति चासो र चिन्ता व्यक्त गरिरहेका बेला जोन्सले भावी वित्तमन्त्रीले बजार, ट्रेड युनियन, संसदीय लेबर पार्टी र आमजनतालाई विश्वासमा लिन सक्ने क्षमता राख्नुपर्ने बताए ।

बर्नह्यामले अर्को साता आफ्ना केही आर्थिक योजनाबारे सार्वजनिक रूपमा धारणा राख्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री स्टार्मरद्वारा नियुक्त वित्तमन्त्री राहेल रिभ्सलाई प्रतिस्थापन गर्ने व्यक्ति चयन गर्ने जिम्मेवारी पनि सम्भावित रूपमा बर्नह्यामकै हातमा पर्ने देखिएको छ ।

स्टार्मरको दुई वर्षे कार्यकाल विभिन्न राजनीतिक निर्णय, नीतिगत विवाद र रणनीतिक त्रुटिका कारण निरन्तर दबाबमा रह्यो । ती घटनाक्रमले पार्टीभित्र र जनतामाझ उनको लोकप्रियतामा असर पारेको मानिन्छ ।