काठमाडौ । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ । मंगलबार बिहान स्थलमार्ग हुँदै उनलाई नेपालगन्जबाट काठमाडौं ल्याइएको हो ।
माइक्रोबसमा काठमाडौैं ल्याइएका उनलाई सिधै सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो । विभागले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने भएको भन्दै सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएको थियो ।
बिचौलिया दीपक भट्टसँग संदिग्ध आर्थिक कारोबारमा जोडिएको फेला परेपछि सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि पनि अनुसन्धान थालेको हो । विभागले पौडेलसँग आफूले आर्जन गरेका सम्पत्तिको वैधता, भट्टसँगको साझेदारीलगायतका विषयमा बयान लिने भएको छ ।
भट्टलाई पाँच दिनअघि मात्र कारागार चलान गरिएको छ । हिमालय रिइन्स्योरेन्सको सेयर खरिदका विषयमा कर छली गरेको भेटिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि मुद्दा दर्ता गरेको छ ।







