काठमाडौं । नेपाली हास्य अभिनय क्षेत्रका परिचित कलाकार खेम शर्मा ‘चतुरे’को ६५ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ। परिवारसहित लामो समयदेखि अमेरिकामा बस्दै आएका शर्माले अमेरिकी समयअनुसार शुक्रबार बेलुका बाल्टिमोरस्थित अस्पतालमा अन्तिम सास लिएका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको कलाकार तथा मोडल मनिष शर्माले जानकारी दिएका छन्। पछिल्लो समय उनी क्यान्सर रोगसँग संघर्षरत थिए।
शर्माको निधनको खबर सार्वजनिक भएसँगै कलाकारिता क्षेत्रमा शोक छाएको छ। उनका सहकर्मी तथा लामो समयदेखि सहकार्य गर्दै आएका कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै आफूले एक घनिष्ठ साथी गुमाएको बताएका छन्।
नेपाल टेलिभिजनबाट प्रसारित चर्चित हास्य सिरियल ‘चतुरेको दाउपेच’मा ‘चतुरे’ पात्रमार्फत उनले विशेष लोकप्रियता हासिल गरेका थिए। उक्त सिरियलमा शिवहरि पौडेलसँगको उनको जोडी दर्शकमाझ निकै रुचाइएको थियो।
टेलिसिरियलसँगै उनले रंगमञ्च, टेलिफिल्म र नेपाली चलचित्र क्षेत्रमा पनि सक्रिय योगदान दिएका थिए। ‘करोडपति’, ‘नेपाली बाबु’, ‘बेइमानी’, ‘आवारा’, ‘यस्तै रहेछ पिरती’, ‘गोठालो’, ‘अधिकार’, ‘सौगात’, ‘झझल्को’, ‘घर–आँगन’, ‘परेली’ र ‘लौन यो मायाले सतायो’ लगायतका चलचित्रमा उनले अभिनय गरेका थिए।
स्वाभाविक अभिनय, हास्य प्रस्तुति र जीवन्त संवाद शैलीका कारण खेम शर्मा नेपाली दर्शकमाझ लामो समयसम्म सम्झिइने कलाकारका रूपमा परिचित रहनेछन्।






